काठमाडौं - एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरू प्रदान गर्न थालेको छ।

यो टावरको सञ्चालनपश्चात मार्माको लट्टीनाथ क्षेत्रका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्। स्थानीयहरूको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दामात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ। 

‘यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानीयका साथै पर्यटकहरूलाई दिन सफल भएका छौं। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको एक स्पष्ट प्रमाण हो,’ एनसेलकी हेड अफ नेटवर्क लेना केशरी कंसाकारले भनिन्। हाल एनसेलले देशभर ४५ सयभन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ।