काठमाडौं - मोरङको बूढीगंगा गाउँपालिका–२ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत नेपाल फ्युल सेन्टरअगाडि बिहान करिब ६ बजेतिर दुर्घटना भएको हो । 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काटिरहेका साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

दुर्घटनामा मोटरसाइकलमा सवार सिराहाको लहान नगरपालिका–३ का १८ वर्षीय डाइमन्डकुमार कुसवाहको मृत्यु भएको छ । दुर्घटनामा परेपछि अनुहार,टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी मिश्रले बताए । 

मोटरसाइकलमै रहेका लहान नगरपालिका–२ का १७ वर्षीय राहुल कुसवाहको बायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट साइकल यात्रीसुनसरीको दुहबी नगरपालिका–१ का २२ वर्षीय साहजित मियाँ पनि घाइते भएका छन् । उनको टाउको,अनुहार,दायाँ हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थाका राहुल र साहजितको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी मिश्रले दिए ।