काठमाडौं - नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)ले नेपाल एयरलाइन्सको व्यावसायिक सुधार हुनुपर्ने बताएको छ। आइतबार बसेको बैठकले नेपाल एयरलाइन्सलाई ‘पब्लिक-प्राइभेट पार्टनरसीप’ (पीपीपी) मोडलमा लैजानुपर्नेमा जोड दिएको हो।
टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा काठमाडौंको पकनाजोलस्थित होटल मूनलाइटमा आयोजित पर्यटन क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट मिटिङ’ले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सुदृढीकरण पर्यटन विकासका लागि महत्वपूर्ण रहेको निष्कर्ष निकालेको हो।
बैठकले नेपाल एयरलाइन्सलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो संस्थाका रूपमा विकास गर्न व्यावसायिक व्यवस्थापन, सक्षम नेतृत्व, स्पष्ट व्यावसायिक योजना तथा रुट र बजार रणनीति आवश्यक रहेको जनाएको छ।
त्यस्तै जहाज व्यवस्थापन सुधार गर्दै आवश्यकताअनुसार नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजाने सम्भावनाबारे गम्भीर छलफल तथा अध्ययन गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।
नेपाल एयरलाइन्स बलियो नभएसम्म क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानमार्फत नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा अपेक्षित प्रतिस्पर्धा गर्न कठिन हुने भन्दै यसको सुधारलाई पर्यटन क्षेत्रको साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।
बैठकमा नेपालको समग्र पर्यटन विकास, संस्थागत सुधार, पर्यटन क्षेत्रका समसामयिक चुनौती तथा निजी क्षेत्रका साझा एजेन्डाबारे छलफल भएको थियो। होटल एसोसिएसन नेपाल (हान), टान, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ, एक्सपिडिसन अपरेटर एसोसिएसन नेपाल, नेपाल र्याफ्टिङ एजेन्सिज एसोसिएसन, नेपाल स्की एसोसिएसन, नेपाल पर्यटन बोर्ड, पाटा नेपाल तथा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाललगायत संस्थाका प्रतिनिधि बैठकमा सहभागी थिए।


0 comment