काठमाडौं - एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री वाग्ले कतार एयरवेजको जहाजमार्फत बुधबार काठमाडौं फर्किएका हुन् । एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।

बैठकले अर्थमन्त्री वाग्ले तथा एआईआईबीको गभर्नर परिषद्का गभर्नरलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित गरिएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि एआईआईबीको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रहरूबीच सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएपछि मुलुकको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रहरूसँगको सहकार्यका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण नेपालको पूर्वाधार विकासका प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका दृष्टिले फलदायी भएको सचिवालयले जनाएको छ ।