काठमाडौं - आज सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको जनाएको छ। नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म समाधान हुन सकेको छैन।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकाले कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न निवेदन दिएको थियो। नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली,२०७५ को नियम २१ (१) अनुसार २०८३ असोज ५ गतेको कारोबार स्थगित गरिएको जानकारी दिएको छ।

कारोबार स्थगित हुँदा पर्न गएको असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।