काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ अभियानमा २ हजार ५९० जना महिलाको एचपीभी डीएनए (HPV DNA) परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २६१ जनाको रिपोर्ट HPV पोजिटिभ आएको छ।

नगरपालिकाका ९ वटै वडाका आमा तथा दिदीबहिनीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमार्फत महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘स्क्रिनिङदेखि उपचारसम्म’ अभियान सञ्चालन गरिएको नगर अस्पतालले जनाएको छ।

एचपीभी पोजिटिभ देखिएका सम्पूर्ण सेवाग्राहीलाई कागेश्वरी मनोहरा नगर अस्पतालमै थर्मोकोगुलेसन प्रविधिमार्फत आवश्यक उपचार तथा परामर्श प्रदान भइरहेको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (Oncologist) डा. तारा महर्जन र उनको टोलीले उपचार तथा परामर्श दिँदै आएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार परीक्षणका क्रममा पाठेघरको मुखको क्यान्सर दोस्रो तथा तेस्रो चरणमा देखिएका बिरामीलाई थप परीक्षण तथा विशेष उपचारका लागि आवश्यकताअनुसार अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ। रेफर गरिएका बिरामीको उपचार तथा फलोअपलाई समेत निरन्तरता दिइएको अस्पतालले जनाएको छ।

अस्पतालले यो अभियानलाई रोग पहिचान गर्ने कार्यक्रममा मात्र सीमित नराखी ‘रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नुअघि नै स्क्रिनिङमार्फत जोखिम पहिचान गरी रोकथाम, निदान र उपचारसम्म पुर्‍याउने’ उद्देश्यसहित सञ्चालन गरिएको महत्वपूर्ण स्वास्थ्य कार्यक्रमका रूपमा लिएको छ।

नगर अस्पतालका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम समयमै स्क्रिनिङमार्फत पहिचान गर्न सके रोकथाम तथा उपचार गर्न सकिने भएकाले महिलालाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुन आवश्यक छ।

महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेका महिलालाई समयमै पहिचान, उपचार तथा आवश्यक परामर्शको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको अस्पतालको भनाइ छ।

अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, जनप्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति नगर अस्पतालले आभार व्यक्त गरेको छ।