काठमाडौं - माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकतामा राख्न माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकका आफन्तहरूले प्रदर्शन गर्दै सरकारले खोजी तथा उद्धारमा पर्याप्त चासो नदिएको आरोप लगाए। उनीहरूले सरकारले आफैं खोजी कार्यलाई प्रभावकारी रूपमा अघि नबढाएको र आफन्तहरूलाई समेत घटनास्थलमा गएर खोजी गर्न नदिएको गुनासो गरे।

रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढीले आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सरकारले आयोजनाको संरचना नै पत्ता लगाउन कठिन भएको र उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण रहेको बताउँदै आएको छ। पीडित आफन्तहरूले  हेलिकप्टर तथा अन्य उपयुक्त उपकरण प्रयोग गरी तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन माग गरेका छन्।

प्रदर्शनमा सहभागी बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली–३ ‘बी’ मा कार्यरत कर्मचारी तथा कामदारको खोजीमा सरकारले उदासीनता देखाएको आरोप लगाइन्। उनका श्रीमान् तथा वरिष्ठ भूगर्भविद् सुमेश अमात्यसमेत बाढीपछि सम्पर्कविहीन छन्।