काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। क्षतिग्रस्त सडक हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएकोमा आवश्यक मर्मत तथा सुधारका लागि आवागमन बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ २१ गते पनि आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई परेवाभिर हुँदै आवतजावत गर्न दिइने छैन।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार क्षतिग्रस्त सडकको आवश्यक मर्मत तथा सुधार गरी सुरक्षित रूपमा यातायात सञ्चालनमा ल्याउन १२ घण्टा सडक बन्द गर्न लागिएको हो।

सडक मर्मतका कारण हुने अवरोधलाई मध्यनजर गर्दै प्रशासनले सवारी चालक तथा यात्रुलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।