काठमाडौं - भोटेकोशी बाढीमा बेपत्ता भएको ८ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले कुशको शव बनाएर चण्डिका श्रेष्ठको दाहसंस्कार गरे। छोराहरू काजकिरियामा बसे। तर, बेपत्ता भएको ११औं दिनमा ६४ वर्षीया श्रेष्ठ जीवितै भेटिइन्।
भदौ १० गतेको बाढीमा बेपत्ता भएकी श्रेष्ठ घरभित्रै आधा शरीर हिलोमा गडेको अचेत अवस्थामा उद्धार गरिएको हो। नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतलाको घरबाट उद्धार गरिएको हो। श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।
हाल उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। उनको सकुशल उद्धार भएपछि काजकिरिया विधिपूर्वक फुकुवा गरिएको छ। तर, उनका श्रीमान् अझै बेपत्ता छन्। शनिबार नै त्रिशूली–१ (२१६ मेगावाट) को सुरुङबाट चिनियाँ नागरिक लोहायि ताओको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको विपद् विज्ञ टोलीले बेपत्ता भएको ११औं दिनमा उद्धार गरेको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ११औं दिनसम्म पनि सकुशल उद्धार हुनु सन्तोषको विषय भएको बताए। उनले भने, ‘समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ।’
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विदेशी उद्धारकर्ताको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। हालसम्म ६ हजार १ सय २ जना पुरुष र २ हजार ६ सय ६८ महिला गरी ८ हजार ८ सय २१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। अझै ४ हजार ८ सय ८७ जना बेपत्ता छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलका अनुसार, भोटेकोशीको बाढीले प्रभावित क्षेत्रको नापनक्सा नै फेरिन पुगेको छ।
भोटेकोशीको विनाशकारी बाढीले बस्तीको अस्तित्व नामेट पारेको छ। जीवनयापनका आधार खोसेको छ। आफन्त बेपत्ता छन्। कतिपय घाइते अस्पतालमा छन्। विस्थापितसँग न परिवारका सदस्य छन् न त बस्नका लागि थातबास नै छ। ‘बाढीले हरेक घरमा शोकाकुल बनाएको छ। विपत्को सबैभन्दा दुःखद् पक्ष मानवीय पक्ष छ,’ बाढीप्रभावित स्थलबाट डा. पोखरेल भन्छन्, ‘जलविद्युत् आयोजनाको सुरुङ घरहरूमा नयाँ जीवन भेटिन सक्छ। त्यसैले उद्धार प्रयासलाई निरन्तरता दिनुपर्छ। बस्तीमा राहत र पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने खाँचो छ।’
बाढीले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार, प्रभावित क्षेत्रको प्रारम्भिक पुनःस्थापना अर्थात् ‘अर्ली रिकभरी’का लागि ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीबाट बस्ती, भवन, पुल, ऊर्जा, विद्युत्, दूरसञ्चार, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाढीले विशेषगरी तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङलाई क्षतविक्षत पारेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा दाताहरूले सहयोग गर्ने क्रम बढेको छ। हालसम्म ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९ सय ७३ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको १ अर्बभन्दा बढी बाढी प्रभावित क्षेत्रमा निकासा गरिएको जनाइएको छ।


0 comment