काठमाडौं - माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेपछि नेपाली सेनाले उद्धार कार्यका लागि थप जनशक्ति परिचालन गरेको छ। थप जनशक्तिसहित सेनाको टोली आयोजनाको पावर हाउसमा प्रवेश गरेको छ।
उद्धार टोलीलाई पावर हाउसको आन्तरिक संरचनाबारे जानकारी गराउन नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सञ्जोग पनि सेनाको टोलीसँगै पावर हाउस प्रवेश गरेका छन्।
यसैबीच, सुरुङबाट १० दिनपछि सकुशल उद्धार गरिएका सञ्जय साहलाई भेट्न उनका बुवा, आमा र दाजु हवाई मार्गबाट काठमाडौं आएका छन्। साह तिलाठी कोइलाडी गाउँपालिका–४ का बासिन्दा हुन्।
भोटेकोसीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई १० दिनपछि सकुशल उद्धार गरिएको थियो।
दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र फसेका अन्य व्यक्तिलाई पनि सकुशल उद्धार गर्न सकिने आशा बढेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायको संयुक्त टोलीले सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।


0 comment