काठमाडौ —ललितपुर महानगरपालिका वडा नं २२ लाई बालश्रममुक्त वडा घोषणा गर्न लागिएको छ । वडामा चरणगत रुपमा बालश्रम अनुगमन गरिएको र त्यस क्रममा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाइएको नपाइएपछि घोषणा प्रक्रियालाई तिब्र पारिएको बताइएको छ । घोषणापूर्वको अन्तिम अनुगमनमा सहभागी ललितपुर महानगरपालिकाका बालकल्याण अधिकारी सरिता महर्जनले बालश्रममुक्त वडा बनाउनु बालअधिकार सुनिश्चित गर्ने अभियान पनि भएको हुनाले आफूलाई निकै खुशी लागेको बताउनु भयो । 
अनुगमनकै क्रममा ललितपुरमहानगरपालिका वडा नं २२ का वडा अध्यक्ष सागर तुलाधरले महानगरपालिकामा जम्मा २९ वटा वडा रहेकामा वडा नंं २२ पहिलो बालश्रममुक्त वडा बन्ने तयारी रहेको बताउनु भयो । वडामा ४ वटा इँट्टा उद्योगहरु सञ्चालित छन । बालश्रम प्रयोगको लागि जोखिमयुक्त क्षेत्र मानिएको इँट्टा उद्योगमा पनि बालश्रम प्रयोग गरेको नपाइएको हुनाले वडालाई बालश्रममुक्त बनाउन लागिएको तुलाधरको भनाई थियो । वडा क्षेत्रभित्र करिब ४० वटा भन्दा बढी कारखाना, ग्यारेज, होटेल, फर्निचर, पार्टी भेन्यु, खाजा घर, गँलैचा कारखाना लगायतमा अनुगमन गर्दा कहीपनि बालश्रम प्रयोग गरेको नपाइएको हुनाले बालश्रममुक्त वडा बनाउने अभियान सहज भएको कुरा तुलाधरले विशाल नेपाललाई बताउनु भयो । 
यस वडामा बाल विकास समाज वल्र्ड भिजन इन्टरनेशनल नेपाल लगायतका गैर सरकारी संस्थाहरुले विगतदेखि नै बालश्रम न्यूनिकरणमा काम गरिरहेका हुनाले पनि बालश्रममुक्त वडा बनाउने वडाको अभियान सफल हुन लागेको कुरा वडा सदस्य एवं वडास्तरीय बालअधिकार समिति संयोजक जुनु मिजारले बताउनु भयो । यही भदौको २४ गते वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको छ ।