काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा अर्बौको क्षति भएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले पर्यटन क्षेत्रका विभिन्न विधा र भविष्यमा हुने सम्भावित नोक्सानी समेत जोड्दा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको बताएका हुन् ।
बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको उनले बताए । साथै २७ वटा सम्पदा, २ वटा मस्जिदका साथै गुम्बा, स्तुपा र मन्दिरहरू क्षतिग्रस्त; बेत्रावती सन्धिको ऐतिहासिक साक्षी मानिने ‘सन्धिशिला’ समेत बगेको उनले बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय टोली मार्फत देशभरका निजी हेलिकप्टरहरू एकत्रित गरी एकद्वार प्रणालीबाट उद्धार कार्य जारी राखिएको जानकारी दिए ।
उनले बाढी प्रभावित क्षेत्रलाई जलवायु परिवर्तनको असर अध्ययन र स्मरण गराउने गरी ‘क्लाइमेट हेरिटेज’ को रूपमा विकास गरिने बताए । विश्वका कारण जलवायु अन्याय खेप्नुपरेको आवाज उठाउने र अर्कातिर ‘नेपाल खुला र सुरक्षित छ’ भन्दै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गर्ने नीति लिइने उनको भनाइ छ ।


0 comment