काठमाडौं - भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङ जिल्ला प्रभावित बनाएको छ।

नुवाकोटमा रहेका नदी किनार र आसपासका धेरै बस्ती बगाएको छ। बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ। बाढीले नुवाकोटका १ हजार ८ सय ४८ जना बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। २ हजार ९ सय ९२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए। बाढीले घाइते बनाएका ४३ जनाको उपचार भइरहेको छ। बाढीले नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा रहेका दुई वटा पक्की पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ।

त्रिदेशीय मार्गअन्तर्गत गल्छी–देवीघाट–विदुर–बेत्रावती सडक पहिरोले ठाउँ–ठाउँमा बगाएको डीएसपी हवारीले बताए। पुरिएका बाटो तथा घरटहरा सुरक्षित रूपमा खोतल्ने काम भइरहेको छ। बाढीले नुवाकोटका चार स्थानीय तहका नदीकिनारमा रहेका ठूला बस्तीहरू बगाएको हो। विदुर र बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिकाका नदी तटीय बस्ती बगाएको हो।


बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित शान्तिबजार, बेत्रावती, सोले, तुप्चेफाँट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट किनार, तारुकाघाट, केउरेनी, कोल्पुटारफाँटमा ठूलो क्षति गरेको छ। भीमकाय अकल्पनीय बाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथ्यांक संकलन गर्ने कार्य गरिरहेको छ।

बाढीले त्रिशूली नदीको किनारमा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै स्थानमा २२ जनाको शव फेला पारिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताए। उनका अनुसार फेला परेकामध्ये ६ जनाको शव हेलिकप्टरमार्फत गएर निकालिसकिएको र बाँकीको हेलिकप्टरमार्फत शव संकलन गर्ने कार्य भइरहेको छ।

डीएसपी हवारीका अनुसार घरभित्र २२ जनाको शव फेला परेको र त्यसको विवरण संकलन कार्य भइरहेको छ। नदीले अस्थिपञ्जर बनाएको घरबाट शव फेला परेको हो।

नुवाकोट र रसुवाको सीमा नपुग्दै नुवाकोटको बेत्रावतीस्थित घरमा ती शवहरू फेला परेका हुन्। होटेल हो वा अन्य के हो ?     विवरण संकलन गर्ने कार्य भइरहेको हवारीले बताए। 

गोसाइँकुण्ड मेलाको क्रममा तीर्थयात्रीहरू होटेलमा खाना खान वा बास बसेको स्थानमा सो घटना भएको हुन सक्ने विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए। उनका अनुसार बेत्रावतीमा शव व्यवस्थापनको काम जारी रहेको छ।

बाढीले ठूलो क्षति पुर्‍याएपछि नुवाकोटको बेत्रावती बजारमा नेपाल प्रहरीले शव व्यवस्थापनको काम गरिरहेको हो। बाढीमा ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य भइरहेको छ भने उक्त स्थानमा सुरक्षा निकायले विशेष सक्रियता अपनाएको छ।