काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा स्वतन्त्रता र नागरिक अधिकार सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । साथै सहिद दिवसको अवसरमा सोमबार सन्देशमार्फत उनले ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली पनि अर्पण गरेकी छन् ।

आजको दिनले हामीलाई सहिदहरूले गरेको सर्वोच्च त्यागको स्मरण गराउने उनको भनाई छ । राष्ट्रपति भण्डारीले दिगो शान्ति‚सुशासन‚ विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् । ‘आफ्नो अमूल्य  जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउँदछ ।

हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो ।’ जारी सन्देशमा भनिएको छ, ‘सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति‚ सुशासन‚ विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने मैले ठानेको छु ।’

साथै सन्देशमा भनिएको छ, ‘सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । उनले न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौं उनले आफ्नो शन्देशमा बताएकीछिन् ।