काठमाडौं - अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डसहितको टोली काठमाडौं आइपुगेको छ। 

अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्दै आएकी भिक्टोरिया नेतृत्वको टोली केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। 

नेपालका लागि अमेरिकी राजदूत डीआर थम्सनलगायतको दूतावासको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन्। 

उपविदेशमन्त्री भिक्टोरियाको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नदिए पनि नेपाल बसाईका क्रममा उनको उच्चस्तरीय भेटवार्ता हुनेछ। भिक्टोरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेतासँग भेटने कार्यक्रम छ।

उनले परराष्ट्रमन्त्री विमला पौड्यालसँग पनि भेटवार्ता गर्नेछिन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि भिक्टोरियाको भ्रमण नै उच्चस्तरीय कुटनीतिज्ञको पहिलो नेपाल भ्रमण हो।

उपविदेशमन्त्री भिक्टोरियासँगै उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिससमेत नेपाल आएका छन्। अमेरिकी भ्रमण टोली फ्लाइ दुवईबाट नेपाल आएका हुन्। 

टोली भोली भारत जानेछ।