काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई व्यावसायिक सीप तथा अन-द-जब ट्रेनिङ (ओजेटी) प्रदान गरी रोजगारीसँग जोड्ने सम्झौता भएको छ । सोमबार नगरपालिकामा भएको सम्झौताअनुसार पहिलो चरणमा कम्तीमा एक सय युवालाई विभिन्न क्षेत्रमा थप सीपमूलक तालिम तथा कार्यस्थलमा आधारित प्रशिक्षण दिइनेछ ।

सम्झौताअनुसार नगरपालिकाले सञ्चालन गरेका तथा आगामी दिनमा सञ्चालन गर्ने प्रारम्भिक सीपमूलक तालिमबाट उपयुक्त प्रशिक्षार्थी छनोट गर्नेछ । छनोट भएका युवालाई फाउण्डेशनले सम्बन्धित क्षेत्रका रोजगारदातासँग समन्वय गरी थप व्यावसायिक तालिमसँगै प्रत्यक्ष ओजेटीको अवसर उपलब्ध गराउनेछ ।

कार्यक्रमअन्तर्गत हस्पिटालिटी, इसिडी/मोन्टेसरी, सूचना प्रविधि (आइटी), रिटेल चेन, कृषि प्रविधि तथा एप्स, सवारीसाधन तथा अटोमोबाइल, विद्युतीय उपकरण तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी गार्डलगायतका क्षेत्रमा तालिम तथा ओजेटी सञ्चालन गरिनेछ ।

प्रारम्भिक सीपमूलक तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई कार्यस्थलको व्यावहारिक अनुभवसँग जोडेर रोजगारयोग्य जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । स्थानीय श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारी तथा स्वरोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सम्झौतापछि बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले शैक्षिक योग्यता भए पनि व्यावहारिक अनुभवको अभावमा रोजगारी खोजिरहेका युवालाई सीप र अनुभवसहित श्रम बजारमा प्रवेश गराउन कार्यक्रम प्रभावकारी हुने बताए । सीपयुक्त जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको खाडल घटाउन निजी क्षेत्रसँगको साझेदारी महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्कीले अस्ट्रेलियामा आइटी व्यवसायमा सफलता हासिल गरेपछि मातृभूमिमा योगदान गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको पहलको प्रशंसा गर्दै कार्यक्रमलाई नमुना मोडलका रूपमा विकास गर्न सकिने बताए । सफल भएमा अन्य स्थानीय तहले समेत यसबाट सिकेर यस्ता कार्यक्रम विस्तार गर्न सक्ने उनको भनाइ छ ।

फाउण्डेशनका कार्यक्रम प्रबन्धक जगदीश लोहनीले अस्ट्रेलियामा आइटी व्यवसायमा सफल भएपछि आफ्नो ठाउँमा योगदान गर्ने उद्देश्यले नगरपालिकासँग सहकार्य गरिएको बताए । तालिम दिएर मात्र कार्यक्रमलाई सीमित नराखी निजी क्षेत्र तथा अन्य संस्थासँगको साझेदारीमा युवालाई सिधै रोजगारीमा जोड्ने लक्ष्य रहेको उनले बताए ।

‘शैक्षिक योग्यता भएर पनि व्यावहारिक अनुभव नभएका युवा र अनुभवी जनशक्ति खोजिरहेका रोजगारदाताबीचको खाडल पुर्न ओजेटीले सेतुको काम गर्छ,’ लोहनीले भने ।उनका अनुसार कार्यक्रम विशेषगरी सूचना प्रविधि, शिक्षा, कृषि तथा अन्य सेवा क्षेत्रमा केन्द्रित रहनेछ । पहिलो चरणमा कम्तीमा एक सय युवालाई सहभागी गराउने लक्ष्य भए पनि आगामी दिनमा हजारौँ युवालाई कार्यक्रममा जोड्ने योजना रहेको उनले बताए ।

नगरपालिका र फाउण्डेशनबीचको यो सहकार्यलाई दीर्घकालीन रूपमा विस्तार गर्दै अन्य स्थानीय तहले समेत अनुकरण गर्न सक्ने नमुना कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । उक्त सम्झौता कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।