काठमाडौं -  नेपाल र भारतबीच सीमा सुरक्षा, सुरक्षा निकायबीचको समन्वय, सूचना आदानप्रदान, अपराध तथा तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत बनाउने सहमति भएको छ।

भारतको पिथौरागढस्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत–नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

बैठकमा भारतका तर्फबाट पिथौरागढ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढका जिलाधिकारी आशिष भटगाईंले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या, चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए।

बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रहरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी), भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको छ।

सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सूचना समयमै आदानप्रदान गर्ने, सीमामा हुने शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउने तथा सीमा वारपार गर्ने व्यक्तिको पहिचान र आवश्यक कागजात जाँचलाई थप व्यवस्थित बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।

सीमावर्ती क्षेत्रमा हुने लागुऔषध तस्करी, अवैध सामग्रीको ओसारपसार तथा वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे आवश्यक सूचना आदानप्रदान गरी कानुनबमोजिम कारबाही अघि बढाउने तथा सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ। बैठकमा बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्का समयमा दुवै देशबीच तत्काल सूचना आदानप्रदान तथा आवश्यक सहयोग गर्ने विषयमा समेत सहमति भएको छ।

भारत–नेपाल जोड्ने झोलुंगे पुललगायत सीमावर्ती महत्वपूर्ण संरचनाको नियमित अनुगमन, सुरक्षा तथा मर्मतसम्भारका विषयमा पनि छलफल भएको थियो। बैठकमा झोलुंगे पुललाई साँझ सात बजेसम्म खुला गरिदिने प्रस्तावलाई उनीहरूले समर्थन गरेका छन्।

बैठकमा पिथौरागढका प्रहरी अधीक्षक अक्षय प्रह्लाद कोण्डे, प्रभागीय वन अधिकृत आदित्य रत्न, अपर जिलाधिकारी योगेन्द्र सिंहलगायत भारत र नेपालका सम्बन्धित अधिकारीहरूको सहभागिता थियो।