काठमाडौं - कृष्णभिरमा पहिरो गएर मुग्लिन–धादिङ हुँदै काठमाडौं आउने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) एकतर्फी गरेर काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन थालिएको छ।
सोमबार दिउँसो ३ः३० बजे हेटौंडाबाट पेट्रोल, डिजेल, हवाई इन्धन बोकेका ६२ ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जले जनाएको छ। कार्यालयले त्रिभुवन राजपथ एकतर्फी बनाई काठमाडौंमा पेट्रोल, डिजेल र हवाई इन्धन पठाइएको जनाएको छ।
आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका अनुसार सिनामंगल डिपोमा ४७ लाख लिटर हवाई इन्धन मौज्दात रहेको छ। उक्त परिमाणले कम्तीमा १२ दिनको माग धान्न सक्नेछ। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले भने अत्यावश्यक खाद्य सामग्रीको विषयमा प्रधानमन्त्री कार्यालयले भन्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेर्ने बताए।
सडक मर्मत हुन केही दिन लाग्ने देखिएको र ठूला बुलेटहरू काठमाडौं भित्रिन नसक्ने अवस्था आएपछि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टले ग्यास आपूर्ति सहज बनाउन विकल्प सुझाएका छन्। उनका अनुसार उपत्यकामा ग्यासको अभाव हुन नदिन तत्कालै ४ सय ५० केजी र ५ केजीका सिलिन्डरमार्फत ग्यास आपूर्ति खुला गर्नुपर्छ।
भट्टले एलपीजी ग्यास उद्योगीहरूलाई भारतबाट आउने ठूला ग्यास बुलेटहरूलाई चितवनमै रोकेर ४ सय ५० केजीका सिलिन्डरमा ग्यास अनलोड गर्न निर्देशन दिनुपर्ने बताए। त्यसरी अनलोड गरिएका सिलिन्डरलाई साना ट्रकमा राखेर सहजै काठमाडौं भित्र्याउन सकिने उनले बताए।


0 comment