काठमाडौं - नेपाल प्रहरीले विनाशकारी बाढीपछि नदीमा बगेर आएका माछा तथा अन्य नदीजन्य खाद्यपदार्थ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै मानिस, पशु तथा पन्छीसमेत बगाएर बेपत्ता बनाएको अवस्थामा नदीमा बगेर आएका माछा तथा अन्य जलचर सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको हो।
प्रहरीका अनुसार बाढीका कारण नदीको पानी दूषित तथा फोहोर भएको हुन्छ। बाढीले बगाएका मानिस तथा जनावरका शव र अन्य सडेगलेका वस्तु नदीमा मिसिन सक्ने भएकाले त्यस्ता पदार्थ खाने माछा तथा जलचर पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छन्।
बाढीपछि नदी किनारमा ठूला–ठूला माछा भेटिन थालेपछि केही मानिस ती माछा संकलन गरी खानका लागि लैजाँदै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले जनहितमा सूचना जारी गर्दै नदीमा बगेर आएका माछा तथा अन्य जलचर नखान अनुरोध गरेको हो।
प्रहरीले बाढीको समयमा नदी तथा खोलामा बगेर आएका कुनै पनि खाद्यपदार्थ संकलन गरी सेवन नगर्न र स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


0 comment