काठमाडौं - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
उक्त कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।
सूचना अधिकृत खिमराज भुसालले बुधबार आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत सङ्कलनको व्यवस्था गरिएको जानकारी दिए ।
“काठमाडौँमा सङ्कलन हुने राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा एकद्वार प्रणालीमार्फत सङ्कलन गरिनेछ । त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौँस्थित सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा सामग्री व्यवस्थापन गरी सम्बन्धित पीडितसमक्ष पुर्याइनेछ,” उनले भने ।
राहत सामग्री सङ्कलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ । उहाँसँग ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिने उक्त कार्यालयले जनाएको छ ।
यसैगरी, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
राहत सामग्री वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित सम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले एकद्वार प्रणाली अपनाइएको कार्यालयले जनाएको छ ।


0 comment