काठमाण्डौं – संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले आज बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूले प्लेकार्डामा अर्को जल्दो शरीर मेरो नहोस्, गरिखाने की मरिजाने, उद्यमशील नेपाल नारा मात्र हो सरकार ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो ।
आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार निधन भएको थियो ।
0 comment