काठमाडौं - नेपालको सुदूरपश्चिम क्षेत्रमा मंगलबार भूकम्पको ठुलो धक्का महसुस भएको छ। 

मंगलबार दिउँसो २:४३ बजे बाजुरा केन्द्रविन्दु भएर ५.‍९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पले बाजुराको बडिमालिका नगरपालिकामा दुई घर भत्किएको छ। बडिमालिका-९ का हर्क गुरूङ र बडिमालिका-७ का हरिचन्द पाध्यायको घर भत्किएको हो।

मानवीय क्षति केही नभएको प्रहरी प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए। केन्द्र बिन्दु रहेको बिच्छायामा प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए। 

बाजुरामा आज बिहानदेखि बत्ती टेलिफोन छैन। उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर पानी परिरहेको छ।

यसैगरी बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन भत्किएको छ।