काठमाण्डौं – झापामा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको छ ।
यसरी झुण्डिएर मृत्यु हुनेमा कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंश रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताए । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए । मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् । प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ–आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे ।’
अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाट टोली खटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताएका छन् ।
0 comment