काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका ५ जना पाइलटलाई कारबाही सिफारिस गरेको छ। प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा, उद्‍ब घिमिरे, वाईपी ज्वार्चन र प्रसन्न रानालाई कारबाही गर्न सिफारिस गरेको हो।

गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनसमेत नमानेको भन्दै प्राधिकरणले हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो। सोही कसुरमा जापान उडेको जहाजका पाइलट वाईपी ज्वार्चन र प्रसन्न रानालाई समेत निलम्बनको निर्देशन दिइएको छ।

हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ। 

'हङकङको सिभिल एभियसनले हामीलाई जानकारी गराएपछि हामीले कारबाहीको सिफारिस गरेका हौं। यस विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाउँछ। त्यसपछि थप निर्णय हुन्छ।,' उनले भने। 

प्राधिकरणको निर्देशनसँगै यी पाइलटले जहाज उडाउन पाउँदैनन्।