काठमाडौं - प्रहरीले निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेका रुबी खानसहित ७ अधिकारकर्मीहरुलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको हो।
२०७६ चैत १४ मा भारतमा बाँकेकी निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन्। यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे। तर अहिलेसम्म मुद्दा अदालतसम्म जान सकेको छैन र पीडित पक्ष न्याय पाउनेमा आश्वस्त हुन सकेको छैन। मुख्य आरोपित कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।
कठ्यांग्रिँदो चिसोमा उनीहरुले न्यायका लागि गुहारेको २४ औं दिन भइसकेको छ। न्यायको लागि हरेक दिन धाउँदा उनीहरु गलिसकेका छन् तर आत्मबल भने गलेको देखिँदैन। एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत महिलाहरु न्याय सुनिश्चित नभएसम्म पछि नहट्ने प्रणमा छन्।
गृहमन्त्री रवि लामिछाने केही दिनअघि माइतीघर मै प्रदर्शनकारीहरूलाई भेट्न आए पनि आफ्ना कुरा मात्रै सुनाएर हिँडेको भन्दै प्रदर्शनकारीहरू थप असन्तुष्ट देखिएका छन्। लामिछाने गृहमन्त्री बन्नुअघिदेखि नै प्रदर्शनकारीहरूले सडक नाटक, न्यायका लागि बहस लगायत गतिविधि गर्दै आएका छन्। कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐक्यवद्धता जनाउँदै आएका छन्।
0 comment