काठमाडौं - नेपाली कांग्रेस कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।

कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीले राजीनामा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष बुझाएका हुन् । नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो। कांग्रेस बाहिरिएसँगै अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ।

कोसी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।