काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफलमा चालु आर्थिक वर्षमा बिमा कार्यक्रम आत्मनिर्भर हुने अवस्थामा रहेकाले सरकारी अस्पतालमा थप प्रभावकारी बनाइने जनाइएको हो ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुराउन सरकार गम्भीर रहेको बताइन् । उनले नेपालमा मेडिकल टुरिजमका लागि नरदेवी, किर्तिपुर र बूढानीलकण्ठमा बन्दै गरेको पञ्चकर्म जस्ता संस्थाहरू उपयुक्त रहेको धारणा राखिन् । हालसम्म सरकारको मातहतमा कुनै पनि आँखा अस्पताल नरहेको जानकारी दिँदै उनले कोसी अस्पताल (विराटनगर) बाट पहिलो पटक आँखा अस्पतालको सेवा सुरु गर्न लागिएको बताइन्।

त्यस्तै मन्त्रालयका सचिव डा विकास देवकोटाले बिमामा धेरैजसो विरामी वा उपचारको आवश्यकता भएका व्यक्तिहरू मात्र सहभागी हुने र निरोगी व्यक्तिहरूको सहभागिता कम हुनाले बिमामार्फत हुने दाबी वा खर्च अत्यधिक बढेको बताए । उनले  गरिबीको रेखाभन्दा मुनि रहेका वा गरिब पहिचान भएका ८ प्रतिशत व्यक्तिहरू र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ४ प्रतिशत बिमामा आबद्ध रहेको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बिमा कार्यक्रममा देखिनेगरेका समस्याहरुको दिर्घकालीन समाधानमा जोड दिएका थिए ।