काठमाडौं - संखुवासभाको मकालुमा खोलाले बगाउँदा हाइड्रोपावरका एक जना कर्मचारी बेपत्ता
संखुवासभाको मकालु गाउँपालिका ५ पाकपोकमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
मकालु गाउँपालिका ५ पाकपोकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।
गएराति मकालु ५ मा रहेको सिमली खोला तर्ने क्रममा खाँदबारी नगरपालिका १० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिएका छन् ।
खाएर साथीहरुसँगै हाइड्रोको आवासमा फर्कने क्रममा गए राति ११ बजे सुपरभाइजर निरौलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् । हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकोट नगरपालिका १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाको इलाम नगरपालिका १ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जादै गरेका निरौलालाई खोलाले बगाएको थियो ।
बेपत्ता भएका निरौलाको प्रहरी र स्थानीयको सहयोग खोजि कार्य जारी छ ।
घटनास्थल नुम प्रहरी चौकीबाट २० किलोमिटर पुर्वमा पर्दछ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comment