काठमाडौं - भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन् । 

विराटनगरको सिमावर्ती जोगबनी बजारमा एक सय रुपैया प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैया घटेर ९० रुपैया पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य एक सय २० रुपैया प्रति किलो रहेको छ । भारत सरकारले शून्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो ।

 नेपाल सरकारले भने १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरुले बताएका छन् । नेपालका चिनी मिलहरुले न्यून मूल्यको बिल काटेर बढी मूल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मूल्य घट्न नसकेको चिनी आयातकर्ताहरुले जनाएको छ । दशै अगाडि नै चिनी ल्याउन नसके चिनीको मूल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताए ।

भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका कारण सिमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सिमा बल एसएसबीले रोक्ने गरेको छ । नेपालमा चिनीको अभाव भईरहेको बेला सशस्त्र प्रहरी बल एपीएफले पनि सिमा क्षेत्रमा चिनी ल्याउन कडाई गरेपछि बजारमा चिनीको अभाव भएकाले मूल्यवृद्धि भएको व्यापारीहरुले बताएका छन् । सशस्त्र प्रहरीले भने अन्य वस्तु ल्याउन कडाई गरेको भएपनि चिनी ल्याउन कडाई नगरेको बताएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको एनसिईएल मार्फ २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया शुरु गरिसकेको बताइएको छ । भारतले दिने डेढ लाख मेट्रिक टन कोटाको चिनी मध्येबाट चिनी आयात हुन लागेको हो । सिमावर्ती वीरगंज सम्म पु¥याउने गरी भारतीय ५७ रुपैयाँ प्रति किलोमा आयात गर्न लागिएको चिनी आएपछि मूल्य केही कम हुन सक्ने व्यापारीहरुले बताएका छन् ।