काठमाडौं - कोसी प्रदेशको मुख्यमन्त्रीका विषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाई भएको छ । 

एमाले र नेकपाबीच भएको सहमतिपछि कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको छ । तर मुख्यमन्त्रीका विषयमा एमालेभित्र विवाद भएपनि सरकार गठनमा ढिलाई भएको हो । नेकपा एमाले र नेकपाबीच कोसी प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नै निरन्तरता दिने वा अर्को अनुहार ल्याउने विषयमा एमालेभित्र विवाद छ । 

मुख्यमन्त्रीका विषयमा विवाद देखिएपछि नेकपा एमाले कोसी प्रदेश समितिले प्रदेश सांसदहरुसंग छलफल थालेको छ । नेकपा एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राईले एक देखि डेढ साता भित्रमा नेतृत्वबारे उठेको विवाद समाधान गरिने दाबी गरे । उनले पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन अक्षरशः पालना गराउन पार्टी र संसदीय दल भित्र छलफल सुरु गरिएको जानकारी दिए ।

यता कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने आफू निर्विकल्प नरहेको भएपनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम आफूले गर्ने बताए ।  उनले धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न आग्रह गरे ।

सांसदहरुको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरु सहभागी भएको प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिए । कोसी प्रदेशमा नेकपा एमालेका उपसभामुख सहित ४० जना प्रदेश सांसदहरु रहेका छन् ।