काठमाडौं - रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु र वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद रिक्त भएको छ। नेकपा (एमाले) परित्याग गरी अर्को दलमा प्रवेश गरेको आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको हो।
आयोगका अनुसार पार्टीको सिफारिस र प्रचलित कानुनी व्यवस्थाअनुसार दुवै जनप्रतिनिधिले दल त्याग गरेको ठहर गर्दै पद रिक्त गर्ने निर्णय गरिएको हो।
एमालेले पार्टीको विधान र नीतिविपरीत गतिविधि गरेको आरोप लगाउँदै दुवै जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि दल त्यागसम्बन्धी कानुनी कारबाहीका लागि एमाले केन्द्रीय सचिवालयले निर्वाचन आयोगमा सिफारिस पठाएको थियो। पद रिक्त भएको सूचनापछि नगरप्रमुख साहले आफू आयोगको निर्णयविरुद्ध कानुनी उपचारका लागि जाने प्रतिक्रिया दिएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख साह र वडा अध्यक्ष कुर्मी २०८२ चैत २९ गते आमजनता पार्टी (आजपा) मा प्रवेश गरेका थिए।
नगरप्रमुख साह यसअघि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा आफ्नो सट्टा ज्वाइँ कमल साहलाई नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिन लगाएको आरोपमा विवादमा परेका थिए।
निर्वाचन आयोगका अनुसार देवाही गोनाहीका यी दुई जनप्रतिनिधिसहित देशका विभिन्न स्थानीय तहका गरी ६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ।


0 comment