काठमाडौं - केन्द्रमा एमाले–नेकपा सत्ता सहकार्यको सहमति भएसँगै सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शनिबार सत्ता सहकार्यको सहमति भएसँगै प्रदेशमा सरकार गठनको प्रक्रिया सुरू हुन थालेको हो ।
दुबै दलको सहमतिमा सुदूरपश्चिमको नेतृत्व नेकपाको भागमा परेको छ । नेकपा संसदीय दलका नेता खगराज भट्ट मन्त्रीमण्डलको भागबण्डा मिलाउन संघीय राजधानी गएका छन् । भट्ट, मन्त्रीमण्डलको भागबण्डा टुंगाएर सोमबार मात्रै धनगढी फर्किनेछन् ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपरिश्चममा अहिलेको बहुमत भनेको २६ जना हो । अहिले सरकार बनाउनका लागि नेकपाका २१ जना (एकजना निलम्बित) र नेकपा एमालेका ११ जना गरी ३२ जना प्रदेश सभाको स्पष्ट बहुमत छ । सुदूरपश्चिममा कांग्रेसका १८ र राप्रपाका एकजना प्रदेश सभा सदस्य छन् ।
प्रदेश सभामा नेकपा (साविकको समाजवादी) का नेता दीर्घ सोडारी भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा छन् भने डडेलधुराबाट स्वतन्त्र जितेका डाक्टर तारा प्रसाद जोशी संघीय सांसद जितेपछि उनको पद पनि रिक्त छ ।
'म काठमाण्डौं आएको छु । पार्टीका नेताहरूसँग मन्त्रालय बाँडफाँडका बारेमा छलफल हुन्छ । प्रदेश नीति तथा योजना आयोगका पदाधीकारी नियुक्तिको विषयमा छलफल गर्नुछ । अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको छ । बजेटका बारेमा पनि छलफल गर्नुछ,'नेकपा संसदीय दलका नेता खगराज भट्टले भने । उनले सोमबार धनगढी फर्केपछि मात्रै सरकार निर्माणको प्रकृयामा जाने बताए ।
सत्ता साझेदारीको सहमति अनुसार नेकपाको भागमा कर्णाली र सुदूरपश्चिम र कोसी, बागमती र लुम्बिनी एमालेको भागमा परेका छन् । बाँकी प्रदेशमा बहमुत नपुग्ने भएकाले अरु दलहरुसँग सहकार्य गर्ने सहमति भएको थियो ।


0 comment