काठमाण्डौं – “जहाँ ईच्छा त्यहाँ उपाए” भने झै पढ्ने इच्छालाई पनि उमेरले नछेक्ने उदाहरण प्रस्तुत गरेका छन् शिव सामुदायिक अध्ययन केन्द्रद्वारा सञ्चालित गृहणी कक्षामा अध्ययन गर्ने महिलाहरुले ।
विभिन्न कारणले पढ्न नपाएका र स्कुल जाने उमेर नाघिसकेको १५ वर्षदेखि ६० वर्ष उमेरका महिलाहरु गृहिणी कक्षामा अध्ययन गर्छन् । बिहान–बेलुका घरको काम सकेर फुर्सदको समयमा पढ्न जम्मा हुने महिलाहरुले गृहणी कक्षाबाट नेपाली बाह्खरीदेखि अंग्रेजीसमेत पढ्ने गरेका छन् ।
त्यसो त गृहिणी कक्षामा अध्ययन गर्ने महिलाहरुले एसएलसीसम्म उत्तीर्ण गरेका छन्। बिगतमा पढ्न नपाएको र अहिले गृहणी कक्षामार्फत पढ्न पाउदा धेरै खुसी लागेको सहभागीहरुले बताए । निरक्षर महिलाहरु गृहणी कक्षामा पढेपछि मोबाइलबाट फोन गर्न सक्ने, फोन उठाउन सक्ने, सन्देश पठाउन, विदेशमा रहेका आफन्तस“ग सामाजिक सञ्जाल फेसबुकबाट च्याट गर्न र हरहिसाब राख्न सक्नेसम्म भएका छन् ।
२०६६ सालमा स्थापना भएको गृहणी कक्षामा सुरू मै १०५ विद्यार्थी रहेका थिए भने दिन प्रतिदिन महिला विद्यार्थीहरुको संख्या बढ्दो छ । गृहिणी कक्षामा पढिसकेका महिलाहरु अहिले अन्य विद्यालयका कक्षा ७ देखि ९ सम्म भर्ना भएर पढन सुरू गरेको गृिहणी कक्षाकी शिक्षिका नुतन पुनले बताइन् ।
आफू समान उमेरका विद्यार्थीहरुलाई पढाउन पाउदा ज्यादै खुसी लागेको र उनीहरुले धेरै कुरा जान्दा आफु सफल भएको महशुस हुने गृहिणी कक्षाका शिक्षिका पुनले बताइन् । शिव सामुदायिक स्रोत केन्द्रको अगुवाइमा गृहिणी कक्षा सञ्चालनमा आएको हो ।
स्रोत केन्द्रका अध्यक्ष खगिसरा गुरूङले अझै पनि कतिपय महिलाहरु निरक्षर रहे पनि गृहणी कक्षामा पढ्न आउन लाज मान्ने गरेकोले समस्या भएको बताइन् ।
नवलपरासी जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेको अवस्थामा यस्ता कक्षाले पूर्णसाक्षरता घोषणा कार्यान्वयनमा अझ सहजता थपेको जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए ।
0 comment