काठमाडौं - सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रो पटक कामुप्रधानन्यायाधीशको जिम्मेवारी पाएकी छन्। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएकाले मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् ।
शर्मा प्रधानन्यायाधीशमा नियुक्त हुनु अगाबै मल्लले कामु प्रधानन्यायाधिशका रुपमा जिम्मेवारी सम्हालिसकेकी छन्।
वरिष्ठताको आधारमा आफूलाई प्रधानन्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी मल्ल प्रधानन्यायाधीशको पदभार ग्रहणमा समेत अनुपस्थित थिइन्। प्रधानन्यायाधीशसँग असन्तुष्ट बनेकी मल्ल बिहीबार साँझ प्रधानन्यायाधीश शर्मालाई बिदाई गर्न भने विमानस्थल पुगेकी थिइन्।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सोही आधारमा बालेन सरकारको मन्त्रिपरिषदले जेठ ५ गते शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो ।
भारतका समकक्षी सूर्य कान्तको निमन्त्रणामा शर्मा नेतृत्वको टोली बिहीबार भारत पुगेको छ।
भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सहरजिस्ट्रार अमित उप्रेती सहभागी छन्। भ्रमणका क्रममा भारतको सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रम छ।
प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने सर्वोच्चले जनाएको छ।


0 comment