काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिविमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले कार्यक्रमस्थल बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ‘मेरिटोक्रेसी लागू गर’, ‘नेपो बेबी शिक्षामन्त्री’ तथा ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनका कारण विश्वविद्यालय परिसरमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपछि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनमा सहभागी पाँच जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री पोखरेल प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी भइरहेका बेला विरोध प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयमा विद्यार्थी प्रतिनिधित्वको सुनिश्चितता, योग्यता र पारदर्शितामा आधारित प्रणाली लागू गर्न तथा स्ववियुसम्बन्धी निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।


0 comment