काठमाडौं - बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडकमाथिबाट खसेको पहिरोमा परी पर्यटक बोकेको स्कर्पियो पुरिएको छ।

सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा सोमबार राति अचानक सडकमाथिबाट खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियो पुरिएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईका अनुसार स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल मेसिनको प्रयोग गरी पहिरोले पुरिएको सवारीसाधन निकाल्ने तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।