काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा तथ्याङ्कगत प्राविधिक त्रुटि भएको स्पष्ट पारेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको तथ्याङ्कबारे स्पष्टीकरण माग गरेपछि रास्वपाले उक्त विवरण प्राविधिक त्रुटिका कारण सार्वजनिक भएको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार महाधिवेशनमा प्रस्तुत तथ्याङ्क आधिकारिक सदस्यता अभिलेख नभई डिजिटल प्रणालीमा आवेदकले भरेको प्रारम्भिक (कच्चा) विवरण थियो। वि.सं./ई.सं. पात्रोको गलत छनोट, जन्ममिति प्रविष्टिमा त्रुटि तथा हालको मिति राखिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको उनले बताए।
रास्वपाले हालसम्म दर्ता भएका ५ लाख २३ हजार ४६५ आवेदनमध्ये ३ लाख ९० हजार ११२ जनाको मात्र आधिकारिक सदस्यता प्रमाणीकरण भएको जनाएको छ। साथै, अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदन स्वतः रोक्ने, प्रमाणीकरण भएका अभिलेख पुनः परीक्षण गर्ने र त्रुटिवश स्वीकृत भएका सदस्यता तत्काल खारेज गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


0 comment