काठमाडौं - श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधयेकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरि प्रश्न गर्न पाउनु पर्ने भन्दै वेल घेराउ गरेका हुन् । 

मन्त्री यादवले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि प्रश्न गर्न पाउनु पर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिप्रश्नमाथि पुन प्रतिप्रश्न गर्न नमिल्ने बताए पनि साम्पाङले भने प्रश्न गर्न पाउनुपर्ने अडान कायमै राखेका थिए ।

साम्पाङले विरोध जारी राख्दा सभामुखले प्रक्रियालाई अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । वेल घेराउ गर्दा सभामुख अर्यालले संसदको विधि, नियमावली नमिच्न चेतावनी दिएका थिए । तर उनीहरुले वेल घेराउलाई जारी राखेका छन् ।