काठमाडौं - काठमाडौंको टोखा नगरपालिका–५ मा सञ्चालित एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । 

प्रहरीका अनुसार टोखा–५ स्थित अमृत गुरुङको जग्गा भाडामा लिएर मुकुन्द भण्डारीद्वारा सञ्चालित सिद्धबाबा इन्टरप्राइजेज नामक गार्मेन्ट उद्योगमा राति करिब २:३० बजे अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट सर्किट भई उद्योगभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि आगोले उग्र रूप लिएको अनुमान गरिएको छ। आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, विभिन्न मेसिनरी उपकरण तथा तयारी पोसाकहरू पूर्ण रूपमा नष्ट भएका छन्। उक्त उद्योगले काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा कलेजका पोसाक उत्पादन तथा आपूर्ति गर्दै आएको बताइएको छ।

मध्यरातमा उद्योग बन्द रहेको समयमा भएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। यद्यपि आगलागीका कारण उद्योगमा ठूलो भौतिक क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि उपत्यकाका ६ वटा नगरपालिकाका दमकल परिचालन गरिएको थियो। आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुर, कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरि र टोखा नगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए।

त्यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका संयुक्त टोली र स्थानीय बासिन्दा पनि आगो नियन्त्रणका लागि खटिएका थिए। बिहान ६:४५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।घटनाको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।