काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका–६ बस्ने झापा भद्रपुर नगरपालिका–२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका–१८ बस्ने तनहुँ भानु गाउँपालिका–१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।
पक्राउ परेकामध्ये सुमनले क्रोएशिया पठाई दिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाई दिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


0 comment