काठमाडौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रा सहित नेपाल एयरलाइन्सका एक सवारी चालक पक्राउ परेका छन्। 
पक्राउ पर्नेमा सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बबरमहल बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फलामको कराईमा लुकाएर लैजान लागिएको उक्त रकम फेला पारेको हो।

विश्वास नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड इक्विपमेन्ट अपरेटर  पदमा कार्यरत रहेको जनाइएको छ। विश्वास सोमबार राति २:२० बजे मलेसियाको क्वालालम्पुर जान लागेका थिए।

विमानस्थलस्थित अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ क्षेत्रमा जाँचका क्रममा उनले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा विदेशी तथा नेपाली मुद्रा फेला परेको एसएसपी बसन्त रजौरेले बताउनु भयो ।

बरामद गरिएको रकममा अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकन रुपैयाँ, जापानी येन, वेस्ट अफ्रिकन मिल फ्रान्क्स तथा नेपाली रुपैयाँ रहेका छन्।

प्रहरीका अनुसार बरामद मुद्राको नेपाली मूल्य करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको छ। 

बरामद नगद, राहदानी तथा अन्य सामग्रीसहित विश्वासलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।