जय मातृभूमि पार्टीले सरकारले आ.व. २०८३/०८४ लागि प्रस्तुत गरेको बजेटको बारेमा एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनेको छ “ नेपाल सरकारबाट ज्येष्ठ १५, २०८३ मा संघीय संयुक्त सदनमा पेस भएको बजेट विस्तारकारी, अस्थिरताउन्मुख, अनिश्चिततामुखी र कार्यान्वयनमा जटिलता उत्पन्न गर्ने प्रकृतिको रहेको यस पार्टीको ठम्याइ छ । बजेटले सारभूत रुपमा आफ्नो गन्तव्य, दिशा, उद्देश्य र प्राथमिकता निर्क्योल र यकिन गर्न सकेको छैन । पचास युनिटभन्दा बढी बिद्युत् खपतमा पाँच प्रतिशत कर थोपरी उपभोक्तालाई मर्कामा पारिएको छ भने बिद्युत्ले चल्ने संयन्त्रहरुको प्रयोजन दुरुत्साहित गरी ऊर्जामा आधारित अर्थतन्त्र निर्माणको मार्गदर्शन र कार्यदिशा तय गर्न बजेट चुकेको छ । संविधान र कानुनले नचिनेको शब्द “मध्यम वर्ग” विस्तार गर्ने भन्दै सभ्य, शान्त र सौम्य नेपाली समाजमा विभाजन र वैमनस्यता ल्याउने हरकत गरिंदैछ । देश काल परिस्थिति अनुरुप बजेटका समसामयिक सवाल, चुनौती र विषय—वस्तुको अन्तर्य फेला पार्न नसक्दा प्रस्तुत बजेटको कार्यान्वयन पक्ष तीतो यथार्थमा परिणत हुने देखिएको छ ।
चालु खर्चको ३३.९ ५ मात्र पुंजीगत खर्चको अनुमान गरेको प्रस्तुत बजेटले सालबसाली र सरकारी उपभोग खर्चलाई प्राथमिकतामा राखी विकास निर्माण कार्यलाई पूर्णरुपमा ऋणश्रोतमा आधारित बनाएको छ । नेपालको सार्वजनिक वित्तको इतिहास हेर्दा ऋणभन्दा पूंजीगत खर्च कम भएको पहिलो वर्ष आगामी आ.व.रहेकोले हामी कतिसम्म ऋणको पासोमा फसिसकेका रहेछौं, स्पष्ट हुन्छ । यस्तै, परिचालित ऋणको ६५.६ ५ मात्र पुंजीगत खर्च हुने र बाँकी ३४ं.४ ५ ऋण तिर्नमै विनियोजित हुनुले “ऋण तिर्न ऋण लिने” परिपाटी झांगिदै गएको छ । अत्यधिक घाटा बजेट (जीडीपीको १० ५ ) र ऋण परिचालनको जगमा निर्मित यो बजेटको संरचना र परिदृष्य अत्यन्त बोझिलो, प्रत्युत्पादक, अस्थिर र कमजोर रहेको प्रष्ट छ । परिणाम र प्रतिफल दिन नसक्ने बजेटले देश र नागरिकको हित र कल्याण गर्न सक्दैन ।
बजेट कार्यान्वयनको फलस्वरुप २०८३ वैशाख मसान्तको रु.२९.७५ खर्बको सरकारी ऋण दायित्व (प्रति व्यक्ति दायित्व रु.९७ हजार) २०८४ आषाढ—मसान्तमा रु.३४ खर्ब (प्रति व्यक्ति दायित्व रु.१ लाख ११ हजार) पुग्ने छ । नेपालको प्रमुख समस्या बेरोजगारी बारे बजेट उदासीन रहेकोले वैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को अरु बढ्ने छ । आयातका साथै आयातमा आधारित उपभोग बढ्ने र अनियन्त्रित आयातले कृषि र औद्योगिक उत्पादनमा संकुचन आउने छ । निर्यात शिथिल रहने, व्यापार घाटा अझ विस्तारिन हुने, आर्थिक वृद्धि लक्षित ७ ५ भन्दा कम मात्र हासिल हुने, गार्हस्थ्य बचत घट्ने, महंगी बढ्ने, जनजीविका असहज हुने, बजेटका अन्य व्यवस्थाको कार्यान्वयनमा असहजता र कठिनाइ आउने तथा समग्रमा अर्थतन्त्र र नागरिकको आर्थिक अवस्था अझ कष्टकर र दयनीय हुने निश्चित भएकोले बेलैमा जनता जनार्दनलाई सुसूचित र सजग रहन यो विज्ञप्ति जारी गरिएको छ ।” प्रेस विज्ञप्तिमा पार्टीका उपाध्यक्ष तथा अर्थविद् टुलराज बस्यालले हस्ताक्षर गर्नु भएको छ ।



0 comment