काठमाडौं - जय मातृभूमि पार्टीले राष्ट्रियता यस पार्टीको प्रमुख सिद्धान्त रहेको छ । यस अन्तर्गत नेपालको स्वतन्त्रता; सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र संवद्र्धन गर्दै चन्द्र—सूर्य अंकित ध्वजाको गरिमा र सम्मान बढाउने पार्टीको ध्येय रहेको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त अनुरुप छिमेकीहरुसँग परम्परादेखि नै रहँदै आएको घनिष्ट सम्बन्ध कायम राखिने तथा असमान वैदेशिक सन्धिसंम्झौताहरु खारेज गर्दै नेपालको भूमि कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिने यस पार्टीको स्थापित मान्यता रहेको छ ।

 मिति २०८३।०२।१७ मा नियमावलीको प्रावधान मिच्दै तत्काल प्रश्नोत्तर समय मिलाई प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिई नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुले सार्वभौमिकताको विषयमा यो संसदीय व्यवस्थाको आधार कति कमजोर रहेछ, एक पटक पुनः पुष्टि भएको छ । जुन देशको जग्गा मिचिएको भनेर प्रधानमन्त्रीको भनाइ आयो, स्वयं त्यस देशले आफ्नो कुनै भूभाग नेपालले मिचेको छ भनेर आजसम्म नभनेको स्थितिमा प्रधानमन्त्रीबाट यस्तो वाहियात, आधारहीन, बकवास, उरन्ठेउलो र तथ्यहीन भनाइ आउनुले सुगौली सन्धि अनुसारको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूभागको विषयलाई दिग्भ्रमित पार्ने उद्यतले कतै काम भएको त छैन भन्ने शंका उब्जिएको छ ।

त्यसैले, तत्काल प्रधानमन्त्रीले देश र नागरिक समक्ष माफी मागी आफ्नो उक्त त्रुटिपूर्ण भनाइ संसदको रोष्ट्रमबाट फिर्ता लिन चेतावनी दिन्छौं । साथै, आगामी दिनमा देशको राष्ट्रियता र सार्वभौमिकताको संवद्र्धन प्रति समर्पित रहँदै राष्ट्रियता कमजोर पार्ने यस्तो विवादास्पद अभिव्यक्ति नदिन सरकारलाई सचेत गराउँदै जनता जनार्दनलाई सुसूचित गराउन यो विज्ञप्ति जारी गरिएको   छ । प्रेस विज्ञप्तिमा पार्टीका अध्यक्ष रामशरण पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।