चितवन:चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले  हामी फिल्डका न्यायाधीश हौं । समाजमा हुने धेरै विवाद, झगडा, दुर्घटना र तनाव अदालत पुग्नुअघि नै प्रहरीको उपस्थितिले समाधान हुने गर्छ उनले स्पष्ट शब्दमा भने।

ट्राफिक प्रहरी र जनपथ प्रहरी केवल ड्युटी गर्ने कर्मचारी होइनन्, समाजलाई मिलाउने जिम्मेवारी बोकेका पात्र हुन् । प्रहरी प्रमुख पौडेलका अनुसार सडकमा हुने दुर्घटना नियन्त्रणदेखि लिएर पारिवारिक विवाद, सामाजिक असन्तुलन, सार्वजनिक शान्ति र नागरिक सुरक्षासम्मका विषयमा प्रहरी प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। 

प्रमुख पौडेलले प्रहरीलाई समाजको पहिलो उद्धारकर्ता को रूपमा व्याख्या गर्दै कुनै पनि संकट, दुर्घटना वा आपत् पर्दा सबैभन्दा पहिले नागरिकको बीचमा प्रहरी नै पुग्ने बताउनु भयो।

प्रहरीको जिम्मेवारी केवल कानुन कार्यान्वयनमा सीमित नरहेको उल्लेख गर्दै प्रमुख पौडेलले समाज परिवर्तन, अनुशासन निर्माण र नागरिकमा विश्वास जगाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। प्रहरीको काम हत्कडी लगाउनु मात्र होइन, समाजलाई सही बाटोमा डोर्‍याउनु पनि हो भन्ने कुरामा उहाले जोड दिनु भयो।

प्रमुख पौडेलले अहिलेको समयमा प्रहरीले केवल अपराध नियन्त्रण गरेर मात्र पुग्दैन, सामाजिक चेतना, मानवता, संयमता र विश्वास निर्माणमा पनि अग्रसर हुनुपर्छ भन्ने धारणा राख्नु भयो। 

सडकमा ट्राफिक व्यवस्थापन गर्ने प्रहरीदेखि गाउँटोलमा खटिने जनपथ प्रहरीसम्म सबैले समाजलाई सुरक्षित र व्यवस्थित बनाउने साझा जिम्मेवारी बोकेका छन् । नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो भए मात्र शान्ति, सुरक्षित र सभ्य समाज निर्माण सम्भव हुने धारणा राख्दै नागरिकलाई पनि प्रहरीप्रति सहयोगी र जिम्मेवार बन्न आग्रह गर्नुका साथै प्रहरीलाई डर होइन, भरोसागत संस्थाको रूपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउन भयो।