काठमाडौं - प्रतिनिधिसभाको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित गरेको छ। विपक्षीहरूको विरोधकैबीच उक्त विधेयक पारित भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

सत्तापक्षका संशोधनकर्ताहरूले आफ्नो संशोधन फिर्ता लिए पनि विपक्षी सांसदहरूले भने छलफलमा भाग नलिएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतले पारित भएको घोषणा गरे।

यस्तै आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो । 
 
प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटै प्रस्ताव प्रस्तुत गरेकी थिइन् । तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले रोष्ट्रम अघि गएर नारा जुलुस गरेका थिए ।संसद् बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।