काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरमा अहिलेसम्म कुनै समिति अनुमनमा नपुगेको जानकारी प्राप्त भएकाले बनेपा लगाएतका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरिएको सभापति हरि ढकालले जानकारी दिए।
बैठकमा काठमाडौँको भूमिहीन सुकुम्बासी व्यवस्थापनमा सरकारले गरिरहेको कार्यका बिषयमा सहरी विकास मन्त्रालय लगाएत सरोकारवाला निकायसंग छलफल गरिएको थियो । छलफलका क्रममा भूमिहीन, सुकुम्वासीलाई स्क्रिनिंग पश्चात फास्ट ट्रयाकमा लालपुर्जा बितरण गर्ने र लालपुर्जा प्राप्त नभएसम्म मासिक १५ हजार घरभाडा दिने तयारी भएको जानकारी आएको सभापति ढकालले बताए ।
बैठकमा सांसदहरुले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका बालबालिकाको पठनपाठनका बिषयमा चासो व्यक्त गरेका थिए । सो क्रममा सरकारले स्कूल बसहरू उपलब्ध गराएको, सुत्केरीहरूको पोषणका विषयमा उचित व्यवस्था प्रबन्ध गरेको जानकारी आएको सभापति ढकालले जानकारी दिए ।


0 comment