काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ बैठक छोडेर बाहिरिएका छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्ति गरेपछि यो अवस्था सिर्जना भएको हो। उनीहरूले मंगलबार नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त टिप्पणी संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। बादलले रास्वपा र नेपाली सेनासम्बन्धी विषयमा बोलेका शब्दप्रति रास्वपाले विरोध जनाएको थियो।

रास्वपाको आपत्तिपछि सभामुख डोलप्रसाद अर्यालले एमाले नेता बादलले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सभामुखको उक्त आदेशको विरोध गर्दै विपक्षी दलका सांसदहरूले बैठकमा उठेर विरोध जनाएका हुन्।

विपक्षी सांसदहरूले निरन्तर विरोध गरिरहँदा पनि सभामुख अर्यालले बैठक सञ्चालन गरिरहेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ असन्तुष्ट बनेका थिए। विपक्षी दलको कुरा नसुनिएको भन्दै उनले बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्। उनीसँगै श्रम संस्कृति पार्टीका अन्य सांसदहरू पनि बैठक कक्षबाट बाहिरिएका छन्।

यसबीच नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भने संसद्मा विरोध जारी राखेका छन्।