काठमाडौं - संघीय संसद्का दुवै सदनको बैठकमा उपस्थितिको हाजिरी अब विद्युतीय माध्यमबाट हुने भएको छ । त्यसको अभिलेखन गर्ने तयारीस्वरूप सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ।
संघीय संसद सचिवालयका अनुसार बिहीबारदेखि सुरु भएको विवरण संकलन अभियानअन्तर्गत हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति तथा विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सम्पन्न भइसकेको छ।
त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलन कार्य जारी रहेको सचिवालयले जनाएको छ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने कार्यक्रम रहेको छ।
यस्तै, वैशाख २८ गते सोमबार सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको विवरण संकलन गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
उक्त दिन नै संघीय संसदका दुवै सदनको बैठक पनि आह्वान गरिएको छ।


0 comment