काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो समय विद्युतीय माध्यममार्फत बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ब्यूरोका अनुसार ठगी समूहहरूले कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट सन्देश तथा अलर्ट पठाउने गरेका छन्। यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिंक’ पठाइ व्यक्तिगत विवरण संकलन गर्ने र त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम चोरी गर्ने प्रवृत्ति बढ्दो छ।
प्रवक्ता दिलीपकुमार गिरीका अनुसार यस्ता शंकास्पद लिंक नखोल्न, अपरिचित स्रोतबाट आएका सन्देशप्रति विश्वास नगर्न र आफ्नो बैंकिङ विवरण कसैसँग पनि साझेदारी नगर्न नागरिकलाई आग्रह गरिएको छ।
ब्यूरोले डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्दा विशेष सावधानी अपनाउन, आधिकारिक एप तथा वेबसाइट मात्र प्रयोग गर्न र कुनै पनि असामान्य गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।


0 comment