काठमाडौं - जिल्ला हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात् पासपोर्ट पुर्‍याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो ।

भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको छ ।

प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था गरिएको बताए ।

उनले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताए ।

आज सम्झौता भएसँगै यो सेवा कार्यान्वयनमा आएको बताउँदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारीमार्फत सुरक्षित रूपमा घरघरमा पुर्याइने बताए ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउँदै बुधबारदेखि हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिइन् ।

उनले भनिन्, “जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्‍याउनका लागि भने हुलाक ऐनअनुसार दस्तुर भने तिर्नुपर्नेछ ।”

राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एकसाताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने उनले जानकारी दिइन् । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुरबापत ५५ शुल्क भने सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने उनले जानकारी दिइन् ।